Category Archives: Small Stories

अन्तिम इच्छा

प्रकाश प्रसाद बाजे यसपटकको जाडोमा जीवनमै पहिलो पटक बिरामी परे।उमेर उनको नौ दसक नाघि सक्यो।आर्यघाटमा काम गर्थे बाजे ७५ बर्षको उमेर सम्म।काम के भन्दा लास पोल्ने।लासको तातो धुवाँले बाजेलाई दमले समात्यो भनेर यसपटक बाजे अस्पतालमा भर्ना भएका छन् । डाक्टरले निमोनिया हो कि के जाति भएको छ भनेर बाजेलाई भनेका थिए तर बाजेले कुरा बुजेका थिएनन् । उनको बस् यति बुजेका थिए कि यो उनको जीवनको अन्तिम घडी हो।बाजे खुसी नै थिए । उनले यति लास पोलेका थिए कि उनलाई लास र आलु कहिले काहिँ उस्तै लाग्थ्यो।मृत्यु देखि डर पनि उहिले भागी सकेको थियो।बजेलाई जिन्दगीमा एउटै कुराको डर लाग्थ्यो।त्यो हो बिजुलीको । उ बेला बनारसमा पढ्न जादा करेन्ट लागेर बाजे धन्नै खुस्केका थिए।बाजे बाच्न त बाचे तर बिजुलीसितको डर भने कहिले हराएन।अस्पतालमा काम थिएन।यताको बेडको बिरामीले के गर्छ उताकोले के गर्छ हेर्यो बस्यो।बाजेको छेउको बेडको बिरामीले आफ्नो कुरुवालाई पत्रीका पढ्दै भन्यो,`जाबो आलु पोल्न बत्ती छैन,बिजुलीले लास पोल्ने रे!थुइक्क!कहिँ नभाको जात्रा हाडी गाउँमा।´
बाजेलाई यो कुरा सुनेर कौतुहलता जागेर आयो अनि बाजेले छिमेकी बिरामी सित पत्रीका मागेर पढ्न थाले।पहिलो पानाको खबरले बजेको मुटु जोडले ढुकढुक गर्न थाल्यो। समाचारको शीर्षक थियो:`आर्यघाटमा लास पोल्न अब बिजुलीको प्रयोग गरिने´।
बाजेलाई छट्पटी हुन थाल्यो।साझ सम्म बाजे छटपट  छटपट गरिरहे। बाजेको छटपटी देखेर अब अन्तिम समय हो भनेर छोराहरुले गंगा जल पनि खुवाईदिए बाजेलाई।बाजेले त्यो रात छट्पटीमै काटे।
अर्को दिन एकाबिहानै उनले छोराहरुलाई छेउमा रखेर यसो भन्दै आफ्नो प्राण त्यागे:”मेरो लासलाई बिजुलीले नपोल्नु।मलाई बिजुली सित डर लाग्छ।मलाई आगोले नै पोल्नु।यो मेरो अन्तिम इच्छा हो।”

©विक्लान्त