Category Archives: Poems

हामीले बुर्ज खालिफा कहिले बनाउने?

जहिले कुरा मात्रै गर्ने

कहिल्यै काम नगर्ने

जे कुरामा पनि,

जहिले अरुको भर पर्ने

तर,

खुट्टा तान्न परे,

अघि सर्ने

अगि बढ्न परे,

पछि सर्ने

यो तालले हामी,

कहिले हो खै माथि तिर सर्ने?

कैले हो खै देशको विकास गर्ने?

 

कसैले सोधे छाती फुलाई भन्ने:

‘वुद्ध वाज् वर्न इन् नेपाल’

‘सिता वाज वर्न इन् नेपाल’

‘एभरेष्ट लाइज् इन् नेपाल’

‘दिस इज् इन् नेपाल’

‘द्याट इज् इन् नेपाल’

देख्ने चाई कहिले हो देशको बेहाल ?

यस्तै यस्तै गफ मात्र हानेर

कैले बनाउने हो हामीले

चम्किने सिसाको पुल?

कहिले फुटाउने हो हामीले

लम्किने विकासको मुल ?

 

गरिबी भोकमरी गाउँ-गाउँमा

अपराध हरेक ठाउँ-ठाउँमा

अशिक्षा, अन्धविश्वास जताततै

असल काम केवल कतैकतै

यस्तो अवस्थासंग कसरी लड्ने ?

देश उकास्न कसरी बढ्ने ?

जहिले कति दुखमा बाच्ने?

कहिले हो हामी सुखमा हास्ने ?

उफ् !

वाक्कदिक्क लागेर सोच्छु म,

कहिले होला हामीले 

आर्थिक समृद्दी बढाउने ?

कहिले होला हामीले

बुर्ज खालिफा बनाउने ???

 

©विक्लान्त

सपनाहरुलाई कैदी बनाएर

सपनाहरुलाई कैदी बनाएर

म स्वतन्त्रताको खोजि गरिरहेछु

आफैलाई भित्रबाटै मारेर

म जीवनको खोजि गरिरहेछु !

लहर चलेको छ ममा

आफूलाई गिज्याउने

आफ्नो अहम् संग द्वन्द् गर्ने

आत्माको आज्ञा अवज्ञा गरी

अनिश्चित यात्रामा अघि बढ्ने

अनि

कतै आफैलाई धोका दिएर

आफ्नै अस्तित्वको सार्थकता खोज्ने !

यस्तो लहरमा म

अल्मलिदै कता बगिरहेछु ?

बुझ्दै नबुझी के चाहन्छु

म खोइ के के रोजिरहेछु !

सपनाहरुलाई कैदी बनाई

कस्तो स्वतन्त्रता खोजिरहेछु ??

 

©विक्लान्त

 

‘एउटा युद्ध’

खोंच बाट विस्फोटित
त्यो शक्तिशाली बमको
यो चिसो धुँवाले
सम्पूर्ण आकाश आज
छोपिएको छ, ढाकिएको छ !
यो विस्फोटन हुनु पहिले
मेघले एकनास गोलाबारी गरेर
यो खोंचलाई उक्साएकै हो
यो खोंचलाई लाल्कारेकै हो !
त्यसैले त खोंच
प्रतिकारमा विस्फोटन गराउन बाध्य भयो
र,
अहिले त्यहि धुँवाको मुस्लो भित्र
स्वयम् खोंचको
धर्ती, आकाश,मेघको
सम्पूर्ण प्राणीहरुको
अस्तित्व तरबारको धारमा उभिएको छ !
लाग्दछ,
यि सबको अस्तित्व आज
यहि मुस्लो भित्र
यहि द्वन्द भित्र
यहि युद्ध भित्र
एकाएक समाप्त हुनेछ
अनि भोलिको बिहानी
कि त,
इन्द्रेणीझैँ रंगिएर आउनेछ
कि त,
मरुभूमिझैँ उराठ भएर आउनेछ !!
©विक्लान्त

समय के हो?

त्यो बुढो रुख
म-
जन्मिदा बुढो थियो
बाल्ख हुदा बुढो थियो
जवान हुदा बुढो थियो
अधबैंसे हुदा बुढो थियो
बुढो हुदा बुढो थियो
लास हुदा बुढो थियो!
त्यसो भए-
समय के हो ??
.
.

‘बाल अधिकार’

वर्षमा एक दिन नारा लाउने
बाल अधिकारको गीत गाउने
सरकारी अनि गैर सरकारी
संस्थाका कहलिएका ठुलाठालु
आफ्नै घरमा भाडा मोल्न
गाउ बस्तीबाट झिकाएर
विभिन्न प्रलोवन देखाएर
सत्य तथ्य लुकाएर
बालबालिकालाई आफ्नो महलमा
दास बनाएर भर्ति गर्दछन् !

दिनभरी बाल अधिकार भन्दै
सडक बालबालिका गन्दै
बाल श्रमिक यति भन्दै
गल्लि गल्लि, चोक चोक
होटेल होटेल र इट्टाभट्टा
पुरै चाहार्ने ति बुद्धिजीवीहरु
बाल अधिकारका रचयिताहरु
पाँचतारेमा भोका बालकका कुरा गरी
मध्यरातमा आफ्ना महल छिर्दछन्
र ति थाकेका पाउमा तेल
आफैले दास बनाएका बालबालिकाका
नरम हातहरुबाट दलाउने गर्दछन्
कलम बोक्ने हातहरुबाट दलाउने गर्दछन् !

यस्तै सानो सोच, ठुलो बोलि
भएका घन्टाउकेहरु द्वारा
गाउँकी एउटी अबोध बालिका
गर्भवती बनाइन्छे,हरेक रात लुटीन्छे
केहि नलागे आफ्नो इज्जत छोप्न
उ सिलिङ्मा झुण्डीन्छे, छतबाट हाम फल्छे !
तर यो घटना फैलिदैन !
न्युज च्यानल चुप हुन्छन्
एफएम मौन रहन्छन्
पत्रिकाहरु एक अक्षर छाप्दैनन्
किनकि त्यहाँ,
एउटी दासी मरेकी हुन्छे
गरिब बालिका मरेकी हुन्छे
र यो सब आत्महत्या मात्र कहलिन्छ !
उफ्! के उसको बच्ने अधिकार छैन ?
किन बुझ्दैनन् कोहिँ आखिर
त्यहाँ ,
मानवता पनि त मरेको हुन्छ
देशको सुनौलो भविष्य पनि मरेको हुन्छ !!

अब ढिला हुन लागिसक्यो साथीहरु !
उठौँ एउटा अठोट बोकेर !
खोक्रा नाराले पात मात्र हल्लिन्छन्
हामीले त जरानै उखेल्नु छ
अनि बाल अधिकारको बिज रोप्नु छ
बालबालिकालाई सम्मान गर्ने
समाजको नक्सा पनि त कोर्नु छ
त्यसैले,
जरैबाट बाल शोषण उखेल्न
काधमा कोदालो र खन्ती लिएर उठौँ
शिक्षा र सचेतनाको एउटा
कोमल सुन्दर विरुवा लिएर उठौँ
पटक्कै हुदैन मात्र भाषण र झुठा नाराले
परिश्रमी, दृढ, अथक हातहरु लिएर उठौँ !!

©विक्लान्त

“बादल माथिको बाघ”

 

 

tiger

थियो ठुलो राम्रो

कालो थोरै नराम्रो

बादल माथिको बाघ

हास्दो एउटा चिराग !!

 

बाल आकृतिको चिनो

स्वरूप क्षणीक झिनो

गर्जियो मधुर भयो

छाँया सुन्दर रह्यो !!

 

निलो कालो बन्यो

कालो पानी बन्यो

बाघ हावा भयो

मिथ्या पर गयो !!

 

हेरी चक्षु रमाए

हृदय सुख समाए

हास्यो बाघ मुसुक्क

बादल माथि सुटुक्क !!  

 

© विक्लान्त

 

चैतको हुरी

खै कहाँ बाट आउछ

यो चैतको हुरी

एकाएक दगुरी दगुरी

यो मुर्दाहरुको देशमा

जहाँ विकासले आफूलाई

अनि समृद्दीले आफूलाई

कतै चितामा सुताएको हुन्छ

कतै पातालमा लुकाएको हुन्छ

एउटा उदाहरण बन्न !!

 

यसको बेगलाई छामी

आग्रगामी हुन सम्भव छैन

जब देशमा केवल मुर्दा छन्

यसको गन्धलाई भोगी

सत्यवादी हुन सम्भव छैन

जब यहाँ जीवितहरु

कि त मुर्दाको सिको गर्छन

कि त मुर्दामा जीवन भर्छन

त्यसैले यस निराकार बेगले

अनि असिमित शक्तिले

र युगको अघोरी तेजले

केवल यहाँ लोप्पा खान्छ

मात्र सत्य खेर जान्छ

तै पनि किन हो कुन्नि

चैतको हुरी जोसिदै आउछ

यि मुर्दाहरुको लोकमा

जहाँ

विकास सपना मात्र हो

क्रियासिलता कल्पना हो

अनि प्रगति र द्रुतता

केवल केवल एक छाँया हो

मात्र उदाहरण बन्न !!

 

एक दिन त्यस्तो आउने छ

जब हुरी पनि हार्नेछ

मुर्दाको शहर संगको लडाई

र बन्नेछ केवल मुर्दाहरुको

दुर्गन्ध बोक्ने साधन

अनि अस्वस्थ चैतन्यको

निराकार बेकार बाधक

कुनै जीवितहरुको लोकमा

जहाँ

कर्मठहरु हुरीलाई

अनि त्यसले बोकेको गन्धलाई

त्यसमा आएको स्थिरतालाई

देखाएर भन्ने छन् की

यो मुर्दाको बस्ति बाट आ’को हो

यो पतन र असफल भा’को हो

अनि मृतको लोकमै पुगेर

यो वायुको बेग अनि जोस

मुर्दै भएर यहाँ आ’को हो

एउटा उदाहरण बन्न !!!

 

-विक्लान्त रचेको

मिति: मार्च ७,२०१४ / २०७०,फाल्गुन २४ गते